प्रस्तुति: प्रकटकुमार शिशिर
मिति: 2012-07-05
राष्ट्रिय आर्थिक दैनिक कारोबार बाट
राजधानीका व्यस्त सडक र चर्को ध्वनिको कोलाहल । वर्षका चीनचौथाइ महिना तेलको लाइन र सँगसँगै अकासिने मूल्य । वातावरण र स्वास्थ्यप्रति ‘कन्सस’ राजधानीकी समृद्धि ढकाल चाहन्निन्, राजधानी त्यस्तो भद्रगोल होस् । थोत्रा गाडीको कर्कस आवाज र धुवाँको मुस्लोले सहर ढाक्दा उनी पिरोलिन्छन् । भन्छिन्, “बरु साइकल चलाऊँ न, सबै टेन्सन साफ ।”
आफैं पनि तीन वर्षदेखि साइकलमा कुदिरहेकी समृद्धिको परिकल्पना हो– राजधानी स्वच्छ र शान्त होस् । “त्यही भएर म साइकल चढ्न थालेकी हुँ,” बानेश्वर टेलिकमअघि भेटिएकी समृद्धि भन्दै थिइन्, “सबैले यसैगरी साइकललाई जोड दिने हो भने हाम्रो सहर कहिल्यै कुरूप हुँदैन ।”
टाउकोमा हेल्मेट, टाइट टिसर्ट र खुट्टामा पाइडल । ‘साइकल सिटी’को परिकल्पना साकार भएको देख्न चाहने तन्नेरीहरू भन्छन्– आफूलाई ‘फिट’ राख्न पनि आवश्यक छ साइकल ।
“तर, पहिरन जेसुकै होस्– साइकल चलाऊँ,” समृद्धि भन्छिन्, “एकातिर आर्थिक रूपमा ‘भायबल’ छ भने अर्कातिर स्वास्थ्यका लागि पनि एकदम फाइदाजनक ।”
हेलमेट र टिसर्टमा मात्रै नभई सामान्य पहिरनमा साइकल कुदाउनेहरू अचेल सहरमा प्रशस्त देखिन्छन् । सोखका लागि मात्रै होइन, कामकाजीहरू पनि ‘फर्मल’ सवारी बनाउँदैछन् साइकललाई ।
सामान्य साइकलदेखि माउन्टेन बाइकसम्ममा हुइँकिनेहरूको संख्या बढ्दो छ । साइकलबाटै स्कुल, कलेज, कार्यालय तथा व्यावसायिक प्रतिष्ठान पुग्नेहरूदेखि सौखिन ‘राइडर’हरू अनेक डिजाइनका साइकलमा हुइँकिन थालेपछि सहर क्रमशः ‘साइकल सिटी’ बन्न थालेको अनुभव समृद्धिलाई छ ।
“राजधानीको व्यस्त सडकका कारण घण्टौं कुरेर पनि गन्तव्यमा पुग्न समस्या छ,” उनी भन्छिन्, “त्यसैले छोटो दूरीका लागि सवारी साधनको विकल्पका रूपमा साइकलप्रति आकर्षण बढेको छ, यसले कमसेकम मलाई खुसी छ ।”
सँधैजसोको इन्धन अभाव, सार्वजनिक सवारीको भाडादर र अस्तव्यस्त ट्राफिक जामले पनि साइकललाई विकल्प बनाउनेहरू बढेका छन् । वातावरणमैत्री मानिने साइकल स्वास्थ्यका लागि उत्तिकै राम्रो मानिन्छ । छोटो दूरीमा बढी उपयुक्त मानिने साइकल आर्थिक रूपले पनि सहज छ ।
साइकलयात्री बढ्दै गएपछि राजधानीका सडकमा छुट्टै साइकल लेन माग गर्न थालिएको छ । प्रदूषण र दुर्घटनाका कारण पनि साइकल चढ्नेहरू बढ्दै गएपछि लेनको अवधारणा अगाडि सारिएको हो । राजधानीका लगभग सबै सडकमा सबै प्रकारका सवारी गुड्नुपर्ने बाध्यता छ । यसले गर्दा साइकलयात्रीले समस्या खेप्दै आएका छन् । यसले दुर्घटनाको जोखिम बढाएको छ ।
प्रदूषण गर्ने सवारीसाधनलाई निरुत्साहित गर्दै सहरलाई ‘साइकल सिटी’ बनाउन केही उत्साही युवाले स्वस्फूर्त अभियान पनि सञ्चालन गरेका छन् । ‘काठमाडौं साइकल सिटी २०२०’ नामक संस्थामार्फत युवाहरूले वातावरणमैत्री काममात्रै गरेका छैनन्, साइकलका लागि आवश्यक लेनको विषयमा पनि बहस उठाएका छन् ।
“एक जनाले मात्र पेट्रोलिमय पदार्थ प्रयोग हुने सवारी प्रयोग नगर्ने हो भने पनि वातावरणमा धेरै प्रभाव पर्छ,” चार वर्षदेखि साइकलमात्र कुदाएका शैलेन्द्र डंगोल भन्छन्, “साइक्लिङ सोखमात्र होइन, यससँग सामाजिक तथा वातावरणीय प्रभाव पनि जोडिएको छ ।” ४० हजारको माउन्टेन बाइकमा कुदिरहेका शैलेन्द्र कलेज आउने जाने पनि साइकलबाटै गर्छन् ।
नेपालभर ३ हजारभन्दा बढीले माउन्टेन बाइक कुदाउने गरेको अनुमान छ । साधारण साइकल प्रयोग गर्नेको संख्या लाखौंमा छ । राजधानीको भौगोलिक बनोटले यहाँ साइकल यात्रा उपयुक्त भए पनि अस्तव्यस्त ट्राफिक र बढ्दो सवारी साधनका कारण जोखिम पनि उत्तिकै छ ।
राजधानीमा जारी सडक विस्तार अभियानका क्रममा साइकल लेन बनाउन आफूहरूले माग गरिरहेको काठमाडौं साइकल सिटी २०२० का सदस्य खासिङचन्द्र राई बताउँछन् । “हामीले पहिलेदेखि नै यो माग उठाएका हौं, विभिन्न निकायमा ज्ञापनपत्र पनि बुझाइसकेका छौं,” उनले भने, “अहिले सडक विस्तारका क्रममा पनि पटक–पटक ध्यानाकर्षण गराएका छौं, हेरौं के हुन्छ ।”
यो प्रस्तावलाई नगर विकास प्राधिकरणका आयुक्त केशव स्थापित पनि सकारात्मक मान्छन् । “यसबारे हामीले पनि सोचिरहेका छौं, तत्काल थानकोटदेखि कलंकीसम्म सम्भाव्यता गर्ने योजना बनाएका छौं,” उनले भने ।
खासिङका अनुसार विदेशीहरूले समेत काठमाडौंका सडक साइकलका लागि उपयुक्त भएको बताउने गरेका छन् । “तर छुट्टै लेन नहुँदा जोेखिम छ,” उनले भने ।
नेपालमा सधैंसजोको पेट्रोलियम अभाव, तेल हाल्ने झन्झट, प्रदुषण जस्ता कारणले साइक्लिङप्रति आकर्षण बढ्दै गएको विश्व साइकलयात्री पुष्कर शाह बताउँछन् । “पेट्रोल, डिजलका कारण अर्बौं रूपैयाँ देशबाट बाहिरने गरेको छ, साइकल प्रयोग बढाउने हो भने धेरै पुँजी जोगिन्छ,” उनी भन्छन् ।
नेपाल भ्रमणमा आउने विदेशीहरू पनि साइकलमार्फत यात्रा गर्न मन पराउँछन् । ट्रेकिङजस्तै साइक्लिङका लागि भनेर पनि विदेशीहरू आउन थालेको नेपाल माउन्टेन बाइक टुर्सका सञ्चालक रञ्जन राजभण्डारी बताउँछन् ।
“अहिले धेरै नेपाली साइकलप्रति तानिएका छन्,” उनी भन्छन्, “विदेशीहरू पनि काठमाडौंबाट साइकलमा विभिन्न ठाउँ यात्रा गर्न रुचाउँछन् ।” विशेषगरी काठमाडौंबाट ककनी, नगरकोट, शिवपुरीलगायत तथा पोखरा, लुम्बिनीसम्म पनि साइकलमार्फत यात्रा गर्ने स्वदेशी तथा विदेशी बढेको उनले बताए । साइकल भाडामा दिने तथा बिक्री गर्ने रञ्जनले हरेक वर्ष सयको हाराहारीमा माउन्टेन बाइक बिक्री भइरहेको जानकारी दिए ।
नेपालमा न्यूनतम २० हजारदेखि अधिकतम ५ लाखसम्मका माउन्टेन बाइक र २५ सयदेखि १५ हजारसम्मका साधारण साइकल प्रयोगमा छन् । साइकलको गुणस्तर र सुविधाअनुसार मूल्य फरक–फरक छन् । नेपालमा प्रायः चाइनिज माउन्टेन बाइक गुड्छन् । ट्रेक, जाइन्ट, कमन्सियल, जेमिज, स्कट ब्रान्डका माउन्टेन बाइक धेरै प्रयोग हुन्छन् । सामान्य साइकल पसल विस्थापित हुनेसँगै नयाँ पसल खुल्ने क्रम बढेको छ ।
“सातामा एकदिन साइकल प्रयोगले पनि धेरै पेट्रोलियम बचत हुन्छ,” मोटरसाइकल छाडेर साइकलतिर सरेका शाहिल श्रेष्ठ भन्छन्, “वातावरण जोगाउने त छँदैछ, यसले हाम्रो पैसा पनि बचत गर्छ ।” साइकल प्रयोगका कुनै बेफाइदा नभएको भन्दै उनी अरुलाई पनि साइकल चढ्न सुझाव दिन्छन् ।
No comments:
Post a Comment