Apr 9, 2012

बृहत साइकल र्याली २०१२ - कस्तो रह्यो ?

शब्द: राजन कठेत

चैत २४, २०६८

‘साइकल लेनका लागि साइकल र्याली’ भन्ने नाराका साथ चैत्र २४ गतेका दिन खुलामञ्चबाट बिहान ९ बजे सुरु भएको साइकल र्याली वसन्तपुर क्षेत्रमा पुगेर समापन भयो । काठमाडौँ साइकल सिटी २०२० को आयोजनामा स्वच्छ उर्जा नेपाल, क्लिन एयर नेटवर्क नेपाल, नेपाल युनाइट्स्, कम अन युथ स्ट्यान्ड अप, रोट्राक्ट नेपाल, एसोसिएसन अफ युथ अर्गनाइजेसन, यस नेपाल, स्टेप फर माइल्स, नेप्लिज युथ फर क्लाइमेट एक्सन, नेपाल साइक्लिङ् सङ्घ- काभ्रे लगायतका युवा सङ्घसंस्था र सञ्जालहरूको सह आयोजनामा आयोजित उक्त कार्यक्रममा साइकल चालक र पैदलयात्रीहरू गरी जम्मा ५०० भन्दा बढी सहभागीहरू थिए । 

उक्त कार्यक्रमा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरू जस्तै मह जोडी, रविन्द्र मिश्र, पूर्व वातावरण मन्त्री गणेश साह, वातावरण उद्यमी भरत बस्नेत, चर्चित मिडिया व्यक्तित्व कनकमनि दिक्षित, वातावरणविद् भुसन तुलाधर, विश्वसाइकल यात्री पुश्कर शाह लगायतका महानुभावहरूले सहभागी जनाएका थि। 
  
काठमाडौँका चक्रपथ क्षेत्रका सडक, तथा शाखा सडकहरूमा पनि साइकल लेनको निर्माण गरिनुपर्ने, सडक निर्माणका योजना र नीतिहरूमा साइकल पूर्वाधार अनिवार्य रुपमा समावेश हुनुपर्ने र पहिले नै काठमाडौँ महानगरपालिकाबाट साइकल लेनका लागि चालिएको निर्माणको योजनालाई कार्यान्वयन गरिनुपर्ने, काठमाडौँका सम्पूर्ण सडकहरू पैदलयात्री, ह्विलचियर र साइकल मैत्री हुनुपर्ने तथा सडक निर्माण र सहर व्यवस्थापनका नीतिनिर्माण र योजनाहरू सवारीसाधन केन्द्रित नभइ जनमानस मैत्री हुनुपर्ने, फ्लाइवभर निर्माणले दिगो सहरी व्यवस्थापनको अवधारणालाई बेफाइदा गरी इन्धनबाट चल्ने सवारीसाधनहरूको चापलाई बढाउन सहयोग मात्र भएकोले सरकारी पक्षबाट गर्ने भनिएको यसको निर्माणका कार्यहरूमा रोक लगाइनुपर्ने जस्ता मागहरूका साथ उक्त बृहत र्याली आयोजना गरिएको थियो ।
  
उक्त र्यालीले आफ्ना मागहरूसहित सम्बन्धित सरकारी निकायहरू जस्तै काठमाडौँ उपत्यका नगर विकास समिति, सडक विभाग, भौतिक योजना तथा निर्माण मन्त्रालय, काठमाडौँ महानगरपालिका इत्यादिका प्रमुखहरूलाई भेटी सम्पूर्ण योजना कार्यान्वयन गर्न र आफ्ना सम्पूर्ण मागहरू मध्यनजर गरेर चाँडै कार्यान्वयन गर्न ज्ञापनपत्र बुझायो । 

र्यालीका सहभागीहरूको स्वेच्छाबाट संकलित रकमद्वारा प्रधानमन्त्रीलाई साइकल उपहार दिने निर्णय भएको छ । ज्ञापनपत्र बुझाएर मात्र कार्यक्रमको अन्त्य नभएको र आफ्ना मागहरूप्रति सरकारलाई ध्यानाकर्षण गराएर कार्यान्वयनमा अग्रसर गराउन दबाबमूलक कार्यक्रमहरू आयोजना गरिरहने प्रतिबद्दताका साथमा उक्त कार्यक्रमको औपचारिकरुपमा समापन भयो ।  

No comments:

Post a Comment